काठमाडौं- विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। शनिबारदेखि सुरु भएको प्रतियोगितामा एपीएफले प्रदेश १ लाई पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा एपीएफले प्रदेश १ लाई आठ विकेटले पराजित गर्न सफल भयो। १०७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले १८ ओभरको समाप्तिमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो। एपीएफको जितमा कप्तान सीता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सीताले अविजित ५२ रन बनाइन्। उनले ५० बलको सामना गर्दै सात चौका प्रहार गरिन्।
ज्योतिले ४० बलमा पाँच चौका प्रहार गर्दै ३२ रन बनाइन्। कप्तान सीतासँग मिलेर ज्योतिले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेकी थिइन्। बलिङतर्फ रुविना क्षेत्री र संगीता राईले एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १०६ रन बनाएको थियो। शून्यमै पहिलो विकेटको रुपमा अप्सरी बेगमलाई गुमाएको प्रदेश १ ले सम्हालिएर खेल्दै मध्यम स्कोर बनाएको थियो। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र रोमा थापाले उकासेका थिए।
रुविनाले ४५ रन बनाइन्। ४८ बलको सामाना गरेकी रुविनाले ६ चौका प्रहार गरेकी थिइन्। त्यस्तै, ४२ बलमा पाँच चौका प्रहार गर्दै रोमाले ३३ रनको योगदान दिइन्। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्। बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, सीता राना मगर र विनु बुढाले समान एक-एक विकेट लिए।
आज (शनिबार) बाट सुरु भएको प्रतियोगिता २८ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। पाँच टिम रहेको प्रतियोगितामा ललितपुर मेयर-११ सँगै, सशस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्।
आजै हुने अर्को खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर-११ टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। 'प्लेयर अफ दि सिरिज'ले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।