काठमाडौं- सन् २०११ अप्रिल २। आजकै दिन ठिक १० वर्षअघि भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि जितेको थियो। २८ वर्षपछि उपाधि जित्न भारतलाई सहज परिस्थिति भने पक्कै थिएन।
फाइनलमा उपाधिको लागि पाएको २७५ रनको लक्ष्य भारतलाई भारी पर्दै थियो। ओपनिङमा आएका विरेन्द्र शेहवाग शून्यमै आउट भए। अर्का भरपर्दा ब्याट्सम्यान सचिन तेन्दुलकर पनि १८ रनमा आउट भएपछि घरेलु टिममाथि दबाब बढ्यो। तर, तेस्रो नम्बरमा आएका गौतम गम्भीर र पाँचौ नम्बरमा आएका कप्तान महेन्द्रसिंह धोनीले भारतीय क्रिकेटलाई एउटा ऐतिहासिक सफलता दिलाए।
गम्भीरले ९७ र धोनीले अविजित ९१ रन बनाए। यसमा अझ चर्चाको केन्द्रमा रहे कप्तान धोनी। पूर्वकप्तान धोनीलाई मात्रै हैन, उनका विश्वभरीका समर्थक र सिंगो भारतीयलाई अप्रिल २ मा जितेको विश्वकप विशेष यादगार बनिरहन्छ।
खेल अन्तिम समयसम्म रोमाञ्चक अवस्थामै थियो। क्रिजमा थिए, धोनी र युवराज सिंह। ४८.१ ओभरमा युवराजले एक रन लिए। ८५ रन बनाएर खेलिरहेका धोनीमाथि सबैको विश्वास थियो। काेही फिंगर क्रस गरेर बसिरहेका थिए, काेही भगवानलाई जब्दै। कमेन्ट्री बक्समा पूर्वकप्तान रवी शास्त्री टिभी हेरिरहेका करोडौं क्रिकेटप्रेमीलाई अझ उल्लासा दिइरहेका थिए।

४८.२ ओभरमा नुवान कुलसेकराको तिब्रगतिको बलमा धोनीले छक्का हाने। योसँगै मुम्बईस्थित वाङखेडे रंगशालामा फाइनल खेल हेर्न आएका ४३ हजार दर्शक एकसाथ उठे। खेलाडीको विजयी उत्सव झनै सम्झना लायक थियो।
त्यही सर्वाधिक लोकप्रिय छक्का हानेको धोनीको ब्याट अहिलेसम्म विश्वकै सबैभन्दा महंगो ब्याट हो। इंग्ल्यान्डको लण्डनमा भएको एक च्यारिटीमा धोनीको त्यो ब्याट अक्सनमा राखिएको थियो। जहाँ आरके ग्लोबल शेयर एन्ड सेक्युरिटी लिमिटेडले अक्सनबाट त्यो ब्याट एक लाख पाउण्ड (८३ लाख भारु)मा किनेको थियो। धोनीको त्यो ब्याटले गिनिज वल्ड रेकर्डमा समेत स्थान बनायाे।
२०११ तत्कालिन कप्तान धोनीको लागि स्वर्णिम वर्षपनि हो। त्यसयता उनकै प्रदर्शन पनि सोचे जस्तो भएन। २०१९ को विश्वकपमा सबैभन्दा बढी आलोचित बनेका धोनीले २०२० अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।