काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले उदयपुरमा पनि समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुरमा शनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको छ। उदयपुर माधव पक्षीय नेता जगन्नाथ खतिवडाको गृह जिल्ला पनि हो।
जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गरेको नेपाल पक्षले जिल्ला कमिटी निर्माणमा तीव्रता दिएको छ। प्रादेशिक शक्ति सन्तुलनमा कमजोर रहेको गण्डकीबाट नेपाल पक्षले जिल्ला कमिटी बनाउने कार्यलाई बढाएको छ।
बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका इन्जार्ज पाण्डेय उपस्थित भएर गण्डकीका जिल्लाहरूमा इन्चार्ज, अध्यक्ष र सचिव समेत चयन गरिएको छ।
कास्कीमा धनराज आचार्य, स्याङजामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठ, लमजुङमा रामबाबु अधिकारी र नवलपुरमा धनञ्जय शर्मालाई अध्यक्ष चयन गरेको छ।
यस्तै, स्याङ्जा र गोरखामा चुणामणि जंगली, म्याग्दीमा श्रीमाया थकाली, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा मोती पौडेल, तनहुँमा प्रतापलाल श्रेष्ठ र नवलपुरमा कृष्ण पौडेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ। मनाङमा प्रदेश सचिवालय सदस्य चित्र थापालाई भेला बोलाउने र संगठन बनाउने जिम्मा दिइएको छ।
यसअघि भोजपुर र अर्घाखाँचीमा पनि जिल्ला कमिटी उक्त पक्षले बनाएको छ। अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संघ लगायतमा समानान्तर कमिटी बनिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।