काठमाडौं- ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेश टिमको घोषणा भएको छ। बिहीबार लुम्बिनी र कर्णालीको प्रादेशिक क्रिकेट संघले लुम्बिनी प्रदेश क्रिकेट टिमको घोषणा गरेको हो।
प्रादेशिक क्रिकेट संघले नेरी थापाको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो। टिममा उपकप्तानको जिम्मेवारी भने सरस्वती पुनले पाएकी छिन्। अन्य खेलाडीमा सवातिका बजगाईं, सरिता जिसी, सरस्वती जिएम, सर्मिला रोक्का मगर, लक्ष्मी चौधरी, मधु डिसी, कृतिका मरासैनी, नितु भण्डारी, एलिशा केसी, वर्षा राना, सुस्मिता भूषाल र जिज्ञाशा थापा रहेका छन्।
त्यस्तै, बैकल्पिक खेलाडीहरुमा आष्मा पुलामी, सोनाम पुन र कृति सेन रहेका छन्। मुख्य प्रशिक्षकमा सन्जु क्षेत्री रहँदा टिम म्यानेजरमा उमा अधिकारी छिन्।
चैत २१ गतेदेखि २८ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिम छन्। जसमा ललितपुर मेयर एघारसँगै, सशस्त्र प्रहरी बलको एपिएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश रहेका छन्। चैत २१ गते दुई खेल हुँदै छन्।
पहिलो खेल प्रदेश १ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर-११ टिमबीच खेल हुनेछ। प्रतियोगितामा दोस्रो दिन चैत २२ गते पहिलो खेल ९ बजे एपीएफ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। दोस्रो खेल ललितपुर मेयर-११ र लुम्बिनी प्रदेशबीच हुनेछ। तेस्रो दिन २३ गते एक खेल दिउँसो १ बजे लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ।
प्रतियोगितामा चौथो दिन चैत २४ गते पहिलो खेल बिहान ९ बजे ललितपुर मेयर-११ र एपीएफबीच तथा दोस्रो खेल दिउँसो १ बजे प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।
पाँचौं दिन चैत २५ गते बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच एक खेलमात्र हुनेछ। चैत २६ गते बिहान ९ बजे ललितपुर मेयर-११ र प्रदेश १ तथा दिउँसो १ बजे लुम्बिनी प्रदेश र एपीएफले खेल्ने छन्। लिगको खेल सकिएपछि अंक तालिकाको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल चैत २८ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा विजेता टिमले तीन लाख र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सम्यानले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।