काठमाडौं- घरेलु टिम न्युजिल्यान्डले बंगलादेशविरुद्धको टि-२० क्रिकेट सिरिज ‘क्लिन स्विप’ गरेको छ। अन्तिम खेलमा बंगलादेशलाई ६५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज ३-० ले जितेको हो।
खेल सुरु हुनुभन्दा अगाडिदेखि पानी परेपछि खेल १० ओभरमा छोट्याइएको थियो। पानी रोकिएपछि सुरु भएको खेलमा न्युजिल्यान्डले विष्फोटक ब्याटिङ गर्दै बंगलादेशलाई १४२ रनको विशाल चुनौती दियाे।
बंगलादेशले ९.३ ओभरमा सबै विकेटको क्षतिमा ७६ रन मात्रै बनाएपछि न्युजिल्यान्डले फराकिलो अन्तरले जित निकाल्दै सिरिज जितेको हो। बंगलादेशका मोहम्मद नाइमले १९, मोसादक हुसेनले १३ र सौम्या सरकारले १० रन जोडे। बलिङतर्फ न्युजिल्यान्डका टोड एस्टलले चार विकेट लिँदा टिम साउथीले तीन विकेट लिए।
यसअघि इडन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा चार विकेटको क्षतिमा १४१ रन बनाएको थियो। न्युजिल्यानडका लागि फिन एलनले २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै ७१ रन बनाए। त्यस्तै, मार्टिन गुप्टिलले १९ बलमा ४४ रन बनाए।
न्युजिल्यान्डले बंगलादेशलाई पहिलो खेलमा ६६ र दोस्रो खेल २८ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।