काठमाडौं- बंगलादेशविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज न्युजिल्यान्डले जितेको छ। पहिलो खेलमा ६६ रनले विजयी भएको न्युजिल्यान्डले दोस्रो खेल २८ रनले जित्दै एक खेलअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो।
न्युजिल्यान्डमा भइरहेको सिरिजअन्तर्गत मंगलबार भएको दोस्रो टी-ट्वान्टीमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। जहाँ वर्षाका कारण पहिलो इनिङमा १७.५ ओभरको खेलमात्र हुन सक्यो। जतिबेला न्युजिल्यान्डले १७३ रन बनाउँदा पाँच विकेट गुमाएको थियो।
डिएल नियमका आधारमा खेल १६ ओभरमा झारेर १७१ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरा ओभर खेल्दै सात विकेट जाँदा १४२ रनमात्र बनाउन सक्यो। बंगलादेशका लागि मोहम्मद नाइमले ३५ बलमा ३८, सौम्य सरकारले २७ बलमा ५१, महमुदुल्लाहले १२ बलमा २१ र मेहदी हसनले छ बलमा १२ रन बनाए।
न्युजिल्यान्डका टिम साउथी, हामिस बेन्नेट र एडम मिल्नेले दुई/दुई तथा ग्लेन फिलिप्सले एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले १८ बलमा २१, फिन एलेनले १० बलमा १७, डेभोन कनवेले नाै बलमा १५, विल योङले १७ बलमा १४, ग्लेन फिलिप्सले ३१ बलमा ५८ साथै ड्रायल मिचेलले १६ बलमा ३४ रन बनाएका थिए।
बंगलादेशका मेहदी हसनले दुई तथा सोरिफुल इस्लाम, तास्किन अहमद र मोहम्मद सैफुद्दिनले एक/एक विकेट लिएका थिए।
अन्तिम टी-ट्वान्टी खेल अप्रिल १ मा हुनेछ। यसअघि तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले क्लिन स्वीप गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।