काठमाडौं- थिसारा परेरा व्यावसायिक खेलमा एक ओभरमा ६ छक्का हान्ने पहिलो श्रीलंकाली खेलाडी बनेका छन्। श्रीलंकाको मेजर क्लब टुर्नामेन्टमा उनले श्रीलंका आर्मी स्पोर्टस् क्लबबाट ब्लुमिफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबविरुद्ध १३ बलमा ५२ रन हानेका हुन्।
परेराको इनिङ लिस्ट ए क्रिकेटमा बनाएको दोस्रो छिटो अर्धशतक पनि हो। लिस्ट ए मा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान श्रीलंकाका पूर्वअलराउण्डर कौशल्या विरारत्नेको नाममा छ। उनले २००५ मा १२ बलमा अर्धशतक बनाएका थिए।
परेराले आइतबार भएको खेलमा आर्मी स्पोट्स क्लबबाट पाँचौँ नम्बरमा ब्याटिङमा जाँदा ४१ ओभरमा झारिएको खेलमा २० बल मात्र बाँकी थियो। पार्ट टाइम अफ स्पिनर तथा अनुभवि फस्ट क्लास क्रिकेटर दिलहान कुरेको बलिङमा थिसराले ६ बलमा ६ छक्का हानेका हुन्। कुरेले ४ ओभर बलिङ गर्दा बिनाविकेट ७३ रन खर्चिए।
व्यावसायिक खेलमा एक ओभरमा छ छक्का हान्ने खेलाडी नौ जना छन्। जसमा गारफिल्ड सोबर्स, रवि शास्त्री, हर्सल गिब्स, युवराज सिंह, रोस ह्वाइटले, हर्जतुल्लाह जजारी, लियो कार्टर र कायरन पोलार्ड छन्। पोलार्डले तीन हप्ता अघि मात्र श्रीलंकाकै अकिला धनञ्जयको बलिङमा टी ट्वान्टी खेलमा ६ बलमा ६ छक्का हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।