काठमाडौं- विश्व चर्चित ब्याट्सम्यान एबी डिभिलियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आउने सम्भावना बढेको छ। इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले इपिएलमा एबी डिभिलियर्सलाई ल्याउने पहल भइरहेको बताएका छन्।
इपिएल टि–२० क्रिकेट प्रतियोगिता आगामी वर्षको असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ। गएको वर्ष चैतमा आयोजनाको अन्तिम चरणमा पुगिसकेको इपिएल क्रिकेट कोरोना माहामारीका कारण रोकिएको थियो। गएको वर्ष ड्वायन स्मिथ, उपुल थारंगा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेल जस्ता खेलाडी ल्याउने तयारी भइसकेको थियो।
यो पटक भने दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सलाई इपिएल खेल्न ल्याउने तयारी भइरहेको तर, पक्का भने भइनसकेको प्रबन्ध निर्देशक अख्तरले भने। उनले भने, ‘इपिएल खेल्न एबी डिभिलियर्स सकारात्मक छन्। समय पनि राम्रो मिलिरहेको कारण उनले पनि इपिएल खेल्न इच्छा देखाएका छन्। कुरा भइरहेको छ। तर, सम्झौता नै भइसकेको छैन।’
एबी डिभिलियर्स इपिएल खेल्न आउने सकारात्मक भएपनि सञ्चारमाध्यममा आएजस्तो पक्का भइ नसकेको उनले प्रस्ट्याएका छन्। ‘गएको वर्ष उनको कार्यतालिका मिलिरहेको थिएन। त्यसकारणले पनि त्यो समय उनले इपिएल खेल्न इच्छा देखाएका थिएनन्। तर, यो पटक भने इपिएल खेल्नका लागि उनले एजेन्टलाई भनिसकेका छन्। उनको एजेन्टसँग मेरो कुरा भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।