फाइल तस्बिर
काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमा-नाका बन्द नगरिने उनले बताएका हुन्।
अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको उल्लेख गरे। बिहीबार न्युज एजेन्सीसँग कुराकानी गर्दै अर्थमन्त्री पौडेलले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्नेछ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उल्लेख गरे।
कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलको भनाइ छ। ‘हामी बजेटको तयारीमा जुटेका छौं। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आईपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौं। समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला,' उनले भने, 'मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रित हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं।’
राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्नेकुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका थिए।
कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।