काठमाडौं- सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित निकालेका छन्। सप्तरीको राजविराजमा जारी प्रतियोगितामा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई ८९ रनले पराजित गरेको हो।
राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए। उनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सुनिल धमलाले १६ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बजाज खडक वारियर्सका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए। अनिल खरेल र विवेक यादवले समान २-२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो। वारियर्सको लागि राष्ट्रिय क्रिकेटरसमेत रहेका अनिल शाहले लगातार दोस्रो शतक बनाए। उनले सर्वाधिक ११३ रन बनाउने क्रममा ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे।
अनिलले अघिल्लो खेलमा बोदे बर्साइन थन्डर्सविरुद्ध पनि शतक बनाएका थिए। उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात ६० बलमा शतक पुरा गरेका थिए। वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए। उनले २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। रुपनि राईडर्सको बलिङमा अनिल यादवले २ विकेट लिए।
दीपेन्द्रसिंह ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्न सफल भयो। किंग्स राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठी कोइलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो। तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए।
दिपेश कंडेलले अविजित ३० र सन्तोष कार्कीले १८ रन बनाए। किंग्सको बलिङमा दिनेश अधिकारी र मेहबुब आलमले समान २-२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो। किंग्स राजविराजको लागि कप्तान मेहबुब आलमले अविजित ७८ रन बनाए। तिलाठी कोइलाडीको बलिङमा राशिद खान र दिपेश कंडेलले समान ३-३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।