काठमाडौं- नेपालसहित विश्वमा कोरोना भाइरस देखिएको एक वर्ष बढी भइसक्यो। यो बीचमा कोरोना भाइरसको विभिन्न परिवर्तित स्वरुप देखिएको वैज्ञानिकले बताएका छन्। कोरोनाको नयाँ स्वरुपका विषयमा अझै अध्ययन र बहस भइरहेको छ।
हालै मात्र भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ। भारतका १८ राज्यबाट संकलन गरिएका नमूनामध्ये ७ सय ७१ जनामा नयाँ डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस देखिएको हो। १० हजार ७ सय ८७ नमूना संकलन गर्दा ७ सय ३६ जनामा युके भेरियन्ट, ३४ जनामा दक्षिण अफ्रिका भेरियन्ट र एक जनामा ब्राजिलियन भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा देखिएको डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस के हो? र यसले शरीरमा कस्तो असर गर्छ? लगायत विषयमा धेरैको जिज्ञासा छ। यही जिज्ञासा हामीले सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई राखेका छौं।
डा बास्तोलाको जवाफ उनकै शब्दमाः
सर्भिलेन्सको पाटोमा प्रत्येक राष्ट्रहरुले कोरोनाको होल जिन स्विक्वेन्सिङ गरिरहेका हुन्छन्। भाइरसको स्वरुपमा कुनै परिवर्तन आयो/आएन, उसको कुनै भागमा के-कस्तो परिवर्तन आयो भन्ने कुराहरुको अध्ययन हुन्छ।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भाइरस पनि जीन स्वीक्वेन्सिङबाट पत्ता लागेको हो। यसले संक्रामक तथा सिकिस्त बनाउन सक्ने भन्ने कुरा पनि पत्ता लागेको थियो। ब्राजिल र युकेमा पनि होल जीन स्वीक्वेन्सिङबाट नै नयाँ भेरियन्ट पत्ता लागेको हो। भारतमा पनि होल जीन स्वीक्वेन्सिङको काम भइरहेको थियो। भारतमा देखिएको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लगाउन भारतले होल जीन स्वीक्वेन्सिङ गरेको थियो।
हाल उनीहरुले अध्ययन गरेको हुन सक्छ। अध्ययनका क्रममा उनीहरुले दुई वटा म्युटेशन भएको भाइरस भेटेका हुन्। डबल म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन भएको हो।
भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ। अहिले भेटिएका भाइरसमा 'ई-४८४ क्यू' र 'एल-४५२ आर' छ। अर्थात् दुई ठाउँमा नम्बर परिवर्तन भयो। यसलाई सामान्यतया भाइरसको परिवर्तित स्वरुप, जुन दुई ठाउँमा देखियो भन्न मिल्छ।
यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ। यो भनेको कोरोना भाइरसको परिवर्तित स्वरुप भनेर नै बुझ्न सकिन्छ। परिवर्तित रुप भएका कारण यसबारेमा अझै अध्ययन हुन भने बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।