काठमाडौं- ललितपुर मेयर महिला च्याम्पियनसिप टी-ट्वान्टी क्रिकेटमा पहिलो खेल प्रदेश १ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने भएको छ।
यही चैत २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नै दोस्रो खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर-११ टिमबीच हुनेछ।
पाँच टिम सहभागी हुने प्रतियोगिताका सबै खेल त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। प्रतियोगितामा गएको पुसमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सेमिफाइनल पुगेका प्रदेश १, एपिएफ, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसँगै ‘ललितपुर मेयर ११’ सहभागी हुने छन्।
‘मेयर-११’ मा रहने पाँचौं टिममा क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गर्नेछ। पाँच टिमले एकअर्कासँग एक-एक खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल खेल्ने छन्।
प्रतियोगितामा दोस्रो दिन चैत २२ गते पहिलो खेल ९ बजे एपिएफ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। दोस्रो खेल ललितपुर मेयर-११ र लुम्बिनी प्रदेशबीच हुनेछ। तेस्रो दिन २३ गते एक खेल दिउँसो १ बजे लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ।
प्रतियोगितामा चौथो दिन चैत २४ गते पहिलो खेल बिहान ९ बजे ललितपुर मेयर-११ र एपिएफबीच तथा दोस्रो खेल दिउँसो १ बजे प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। पाँचौं दिन चैत २५ गते बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच एक खेलमात्र हुनेछ।
चैत २६ गते बिहान ९ बजे ललितपुर मेयर-११ र प्रदेश १ तथा दिउँसो १ बजे लुम्बिनी प्रदेश र एपिएफले खेल्ने छन्। लिगको खेल सकिएपछि अंक तालिकामा रहने शीर्ष दुई टिमले चैत २८ गते फाइनल खेल खेल्ने छन्।
प्रतियोगितामा विजेता टिमले तीन लाख र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सम्यानले १५ हजार रुपैयाँ पुरस्कार पाउने क्यानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।