काठमाडौं–नेपाली राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोरले सातै प्रदेशमा गएर युवा खेलाडीको क्रिकेट प्रतिभा परख्ने भएका छन्। वाटमोरले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) को पहलमा मार्च र अप्रिल महिनाभित्र सातै प्रदेश पुगेर युवा खेलाडी खोज्ने भएका हुन्।
‘हाइ पर्फर्मेन्स क्रिकेट क्लिनिक’ अन्तर्गत वाटमोर पहिलो पटक प्रदेश नम्बर १ मा मार्च २४ मा जाने क्यानले जनाएको छ। त्यसपछि अरु प्रदेशमा जाने समय तय हुने क्रिकेट संघले जनाएको छ। सातै प्रदेशमा प्रशिक्षक पुगेका खेलाडी हेर्दा युवा खेलाडीमा क्रिकेटप्रतिको लगाव बढ्ने विश्वास लिइएको क्यानले जनाएको छ।
त्यसमा स्थानीय प्रशिक्षकले समेत वाटमोरको शैलीबाट केही सिक्ने अवसर पाउने बताइएको छ। श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर गएको पुस २ गते नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका हुन्।
क्रिकेट संघले पहिलो पटक खुला आवेदनमार्फत प्रशिक्षक माग गरी विभिन्न चरण पूरा गर्दै एक वर्षको सम्झौतामा वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
डेभ वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्डेड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिष्ट ए क्रिकेट खेलेका छन्। उनले २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे।
बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ। उनी २०१२ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कपको उपाधि समेत जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक भूमिकामा रहे।
पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बनेका थिए। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि पनि विभिन्न क्लबमार्फत प्रशिक्षणमा नै थिए।
उनी २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनले सिंगापुरलाई एसीसी टि २० एशिया कपमा छनोट गराएका थिए। नेपाल आएयता प्रधानमन्त्री कप क्रिकेट र मेयर्स कप क्रिकेटमा खेलाडीको शैली नियालिरहेका उनले अब सातै प्रदेश पुगेर युवा प्रतिभा हेर्ने भएका हुन्।
नेपाल आएसँगै उनले आफूले महत्वपूर्ण जिम्मेवारी पाएकाले सबै विचार गरेर अघि बढ्ने बताउँदै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।