काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा बामदेव गौतम पनि सहभागी भएका छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपामा देखिएको दुई समूहमध्ये गौतम कतैतिर पनि खुलेका थिएनन्। दुवैतर्फको बैठकमा पनि सहभागी भएका थिएनन्। उनी पार्टी एकता गर्ने अभियान चलाइरहेका थिए। एमाले ब्युँतिएपछि पनि उनी बैठकमा सहभागी भइरहेका थिएनन्। बैठकमै सहभागी भएर आफ्नो आवाज राख्नुपर्ने उनको भनाइ छ।
बालुवाटारमा बोलाइएको संसदीय दलको बैठक र ओली पक्षको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहभागिता नजनाउने निर्णय गरिसकेको छ। उनीहरुले बालुवाटारमा बैठक बोलाइने विषयकै विरोध गर्दै आएका छन्। त्यस्तै, फागुन २८ गते ओलीले आफू पक्षको केन्द्रीय सदस्यहरु राखेर गरेका निर्णयहरुप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन्। त्यसलाई रद्द गर्नुपर्ने उनीहरुको माग छ।
चैत ५ गते बसेको संसदीय दलको बैठकबाट २४ संसदीय बोर्ड गठन गरिएको थियो। त्यस्तै, संसदीय दलको विधान परिवर्तनका लागि ३ सदस्यीय कार्यदल पनि गठन गरिएको थियो। आजको संसदीय दलको बैठकले विधान पारित गर्ने बताइएको छ।
संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।