काठमाडौं– घरेलु टिम न्युजिल्यान्डले एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ। न्युजिल्यान्डले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो।
१३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका हेनरी निकोलसले अविजित ४९ र मार्टिन गुप्टिलले ३८ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३१ रन मात्रै बनायो। बंगलादेशका महमुदुल्लाहले २७, मुश्फिक्वर रहमानले २३ र लिटन दासले १९ रन बनाए।
१९ रन हुँदा दोस्रो विकेटको रुपमा सौम्या सरकार आउट भएपछि बंगलादेश दबाबमा आएको थियो। न्युजिल्यान्डका बलरविरुद्ध बंगलादेशका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। बलिङतर्फ ट्रेन्ट बोल्डले चार विकेट लिए। त्यस्तै, जेम्स निसाम र मिचेल साट्नरले समान २–२ विकेट लिए।
तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा न्युजिल्यान्डले जितसँगै १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।