काठमाडौं- भारत र इंग्ल्यान्डको टेस्ट शृङ्खलामा तेस्रो खेल खेलाइएको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पिचको स्तर 'ठीकै' रहेको निर्धारण भएको छ। दुई दिनमा नै १० विकेटले भारतले टेस्ट खेल जितेपछि पिचलाई लिएर धेरै प्रश्न उठिरहेका थिए।
जसमा म्याच रेफ्री जभागल श्रीनाथले पिच ठीकैको रहेको जनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अयोग्य अंक नदिने भएको हो। यदि मैदानको अवस्थापछि अयोग्य अंक दिइएमा पिचमा अन्तर्राष्ट्रिय खेल खेलाउन नपाइने गरी प्रतिबन्धसम्म लाग्न सक्छ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलाइने पिच र मैदानलाई विभिन्न ६ आधारमा स्तर निर्धारण गरिने मापदण्ड रहेको छ। जसमा निकै राम्रो, राम्रो, ठीकै, अलि नराम्रो, नराम्रो र खेल्नै नमिल्ने गरी छुट्याइन्छ। अलि नराम्रो भनी निर्धारण गरिएको पिचलाई एक अयोग्य अंक दिइने गरिएको छ। नराम्रो भनिएको पिचलाई तीन र खेल्नै नमिल्ने भनिएको पिचलाई पाँच अयोग्य अंक दिइन्छ।
कुनै पिचले पाँच वर्षमा पाँच अयोग्य अंक पाएमा अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्न नपाइने गरी प्रतिबन्ध लाग्न सक्छ। खेलपछि इंग्ल्यान्डका कप्तान जोय रुटले अहमदाबाद पिचमा खेल्न चुनौतीपूर्ण देखिएको र मूल्याङ्कनको जिम्मा आइसिसीको भएको प्रतिक्रिया दिएका थिए।
खेलपछि भारतीय टिमका ब्याट्सम्यान रोहित शर्माले पनि पिच सामान्य नै रहेको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।