काठमाडौं– ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १०७ रनले पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमी च्याम्पियन बनेको हो।
टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा २२० रनको विशाल स्कोर बनाएको थियो। ग्रेट हिमालयका हेमन्त श्रीबास्तवले शतक बनाए। उनले १०६ रन जोडे। त्यस्तै अशोक पौडेलले ३६ रन बनाए। एन्जल्सको लागि श्याम त्रिपाठीले चार र बिपिन न्यौपानेले तीन विकेट लिए।
२२१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको एन्जल्स हार्टले १७.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनायो। एन्जल्स हार्टका दिनेश पुनले सर्बाधिक २१ र बिबेक न्यौपानेले १७ रन बनाए। ग्रेट हिमालयका लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।