काठमाडौं– विभागीय क्लब एपिएफले ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा उपाधिका लागि अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले पुलिसलाई झिनो लक्ष्य दिएको हो। २९.४ ओभरमा सबै विकेटको क्षतिमा एपिएफले १०५ रन मात्रै बनायो। एपिएफका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन्।
बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए। एपिएफविरुद्ध पुलिसका गुल्सन झा र सागर ढकालले किफायती बलिङ गरे। ७.४ ओभर बलिङ गरेका सागरले २८ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, सात ओभर बलिङ गरेका गुल्सनले ३६ रन खर्चिएर चार विकेट लिए।
पहिलो पटक आयोजना भएको काठमाडौं मेयर्स कपको उपाधि जित्ने लक्ष्यमा दुबै टिम छन्। पुलिस लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। पुलिसले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनायो।
पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो। तर, आफ्नो दोस्रो खेलमा भने पुलिस एपिएफसँग दुई विकेटले पराजित भएको थियो। तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको पुलिसले चौथो तथा अन्तिम खेलमा काठमाडौं मेयर्स एघार टिमलाई १०३ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
पुलिस सन्तुलित र बलियो टिम हो। लिग चरणमा एपिएफविरुद्ध ब्यहोरेको हारको बदला लिने लक्ष्यमा पुलिस रहेको छ। यता, शरद भेषावकरको कप्तानीमा रहेको एपिएफ अंक तालिकामा दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो।
एपिएफले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो। आफ्नो पहिलो खेलमा आर्मीलाई एक विकेटले पराजित गरेको एपिएफले दोस्रो खेलमा पुलिसलाई एक विकेटले नै हराएको थियो। तेस्रो खेलमा भने बागमतीसँग २७ रनले हारेको एपिएफले अन्तिम खेलमा काठमाडौंलाई सात विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।