काठमाडौं- नेपाल-पाकिस्तान फ्रेन्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमीले प्रतिस्पर्धा गर्ने भएका छन्।
धुम्बाराहीस्थित पाकिस्तान दुतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई तीन विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। प्रमोद सिंगमले २७, सुभम अग्रवालले १७ रन जोड्दा निखिल गोयलले १५ रन बनाए। ग्रेट हिमालयका विज्ञान राज गौतमले दुई विकेट लिए।
१६९ रनको चुनौती ग्रेट हिमालयले १९.३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ग्रेट हिमालयको जितमा सुशान्त तिमल्सिनाले ५१ रन बनाए। हाम्रो किचनका निखिल गोयलले तीन विकेट लिए।
त्यस्तै, दोस्रो सेमिफाइनलमा एन्जल्स हार्टले बल पार्कलाई १९ रनले पराजित गर्दै फाइनलमा ग्रेट हिमालयसँगको भेट पक्का गर्यो। पहिले ब्याटिङ गरेको एन्जल्स हार्टले २० ओभरमा सात विकेट गुमाएर १८१ रन बनाएको थियो। उसका लागि दिनेश पुनले ३१ र दिपेश अधिकारीले २९ रन जोडे।
बल पार्कका संगमले तीन विकेट लिए। १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बल पार्कले सबै विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो। उसका लागि प्रशन्न शाक्यले सर्वाधिक ४० रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।