काठमाडौं- अफगानिस्तानका हशमत उल्लाह शाहिदीले अफगानिस्तानका लागि दोहोरो शतक बनाएका छन्। योसँगै उनी टेस्ट क्रिकेटमा अफगानिस्तानका लागि दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन्।
हशमत उल्लाहले जिम्बाब्वेविरुद्ध दोहोरो शतक बनाउँदै कीर्तिमान कायम गरेका हुन्। उनकै उच्च प्रदर्शनमा अफगानिस्तानले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्ट खेलको पहिलो इनिङ्समा ठूलो स्कोर बनाएको छ।
अफगानिस्तानले चार विकेटको क्षतिमा ५४५ रन बनाउँदा आफ्नो पहिलो इनिङ्सको समाप्ति गर्यो। अफगानिस्तानका हशमत उल्लाह २०० रनमा अविजित रहे। उनले २१ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, कप्तान अस्घर अफगानले शतकसहित १६४ रन जोडे। इब्राहिम जाड्रानले ७२ रन बनाउँदा नासिर जमालले अविजित ५५ रन बनाए। अफगानिस्तानका हशमत उल्लाहसहित तीन खेलाडीले मात्रै अहिलेसम्म टेस्ट क्रिकेटमा शतक बनाएका छन्। कप्तान अस्घर अफगान र रहमात साहले शतक बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।