काठमाडौं- बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। बागमतीले आर्मीलाई १० रनले पराजित गरेको हो।
बागमतीले आफ्नो अन्तिम खेलमा जित निकाल्दै तेस्रो स्थानमा लिग सकाएको छ। २६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मीले निर्धारित ओभर सकिन १७ बल बाँकी छँदा सबै विकेटको क्षतिमा २५६ रन मात्रै बनाउन सक्यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक बनाएपनि टिमलाई जित दिलाउन सकेनन्।
विनोदले ११४ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै ११९ रन बनाए। त्यस्तै, लोकेश बमले ४६ र करण केसीले २४ रन बनाए। बलिङतर्फ बागमतीका आरियो पौडेलले पाँच र रामनरेश गिरीले दुई विकेट लिए।
पारसको शतक
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा सबै विकेटको क्षतिमा २६६ रन बनाएको थियो। बागमतीको मध्यम लक्ष्यमा पारस खड्काले शतक बनाए। पारसले १३३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतकसहित ११९ रन बनाएका थिए। त्यस्तै, नन्दन यादवले २५ बलमा पाँच चौका र एक छक्कासहित ४२ रनमा अविजित रहे।
शून्यमै पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीका कप्तान ६ रनमा आउट हुँदा जम्मा ११ रन थियो। त्यसपछि तेस्रो नम्बमा आएका पारस र इशान पाण्डेले टिमलाई उकासे। इशानले २६ रन बनाउँदा आदिल खानले २१ रन बनाए। बलिङतर्फ सोमपाल कामीले पाँच विकेट लिए।
पारसले शतक बनाउनु अघिका खेलमा भने खराब प्रदर्शन गरेका थिए। पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध शून्यमा आउट भएका पारसले दोस्रो खेलमा काठमाडौं मेयर्स एघार टिमसँग १० रन बनाएका थिए। तेस्रो खेलमा भने पारसले एपिएफविरुद्ध २९ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।