काठमाडौं– ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएको खेलमा काठमाडौं मेयर्स एघार टिमलाई सात विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो। १७८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४४.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो।
एपिएफको जितमा कप्तान शरद भेषावकर र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए। सन्दीप जोरा ६२ रनमा अविजित रहे। त्यस्तै, कप्तान शरद ६१ रनमा अविजित रहे। बलिङतर्फ अनुज चुनरा, सन्दीप लामिछाने र अनिल खरेलले समान १–१ विकेट लिए।
एक रन बनाउँदा पहिलो विकेटको रुपमा आशिफ शेख शुन्यमा आउट भए। ४४ रनमा एपिएफले दोस्रो विकेट गुमाउँदा शंकर राना ३१ रनमा आउट भए। तेस्रो नम्बरमा आएका कप्तान शरद र पाँचौं नम्बरमा आएका सन्दीप जोराले उत्कृष्ट साँझेदारी गर्दै जित दिलाए। शरद र सन्दीपले १२१ रनको साँझेदारी गरे।
यसअघि मूलपानी क्रिकेट मैदानमा काठमाडौंले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १७७ रन बनाएपछि एपिएफले सामान्य लक्ष्य पाएको थियो। काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भूषालले २० रन बनाए।
१४ रनमा पहिलो विकेटको रुपमा विपिन रावललाई गुमाएको काठमाडौंले ४४ रनमा दोस्रो विकेटको रुपमा खडक बोहोरालाई गुमाएको थियो। तर तेस्रो विकेटको लागि सन्दीप रजाली र हरिशंकरले राम्रो साँझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए। बलिङतर्फ अविनाश बोहरा र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए।
लिग चरणमा एपिएफले चार खेलबाट ६ अंक बनाउँदै फाइनलमा पुगेको हो। पुलिसले यसअघि नै फाइनलमा स्थान बनाएको थियो। अब उपाधिका लागि एपिएफ र पुलिसबीचको खेल त्रिवी क्रिकेट मैदानमा शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।