काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लब ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर एघार टिमलाई फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।
बुधबार भएको खेलमा पुलिसले काठमाडौं एघारलाई १०३ रनले पराजित गरेको हो। १९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौं एघार ९४ रनमा अलआउट भएपछि पुलिसले फराकिलो जित निकालेको हो।
काठमाडौंका कप्तान सन्दीप लामिछानेले २६, कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाए। सुरुवातमै दबाबमा आएको काठमाडौंले ३३ रन हुँदा पाँच विकेट गुमाएको थियो।
पुलिसका पवन सर्राफले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले ६.२ ओभरमा एक मेडनसहित १६ रन खर्चिएर चार विकेट लिएका हुन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले तीन र ललितनारायण राजवंशीले दुई विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेसँगै ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १९७ रन मात्रै बनाएको थियो। पुलिसले राम्रो सुुरुवात गरेपनि ठूलो स्कोर बनाउन सकेन। पहिलो विकेट ५६ रन हुँदा पुलिसले सुनिल धमलालाई गुमाएको थियो।
त्यसपछि भने पुलिसको विकेट पतन सुरु भएको थियो। पुलिसका योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए। बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिए।
फाइनलमा पुलिसविरुद्ध कुन टिम?
काठमाडौंलाई पराजित गर्दै पुलिस ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। पुलिसले आफ्नो चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंक बनाएको छ।
पुलिसले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो। तर, आफ्नो दोस्रो खेलमा एपिएफ क्लबसँग एक विकेटले पुलिस पराजित भयो। त्यसपछि बाँकी रहेको दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले जित निकालेको हो।
आफ्नो तेस्रो खेलमा आर्मीविरुद्ध तीन विकेटको जित निकालेको पुलिसले अन्तिम खेलमा काठमाडौंलाई १०३ रनले हराएको हो। मेयर्स कप क्रिकेटको फाइनल खेल २९ गते शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। पुलिसले फाइनलमा स्थान पक्का गरेपनि बाँकी रहेका चार टिमको फाइनल यात्रा टुंगिएको छैन। यसमा सबैभन्दा बढी एपिएफ क्लबको रहेको छ।
दोस्रो स्थानमा रहेको एपिएफले तीन खेलबाट ४ अंक बनाउँदा तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको तीन खेलबाट दुई अंक छ। त्यस्तै, चौंथो स्थानको बागमती प्रदेशको तीन खेलबाट दुई अंक हुँदा अंकतालिकाको पुछारमा रहेको काठमाडौं मेयर टिमको समान तीन खेलबाट दुई अंक छ।
बागमती र आर्मी, काठमाडौं र एपिएफ
अब अन्तिम खेलमा बागमतीले आर्मीसँग प्रतिस्पर्धा गर्दा एपिएफले काठमाडौंसँग खेल्नेछ। बागमती र आर्मीबीचको खेल किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदा मूलपानी क्रिकेट मैदानमा एपिएफले काठमाडौंसँग खेल्नेछ।
यी दुवै खेल बिहीबार हुनेछन्।
एपिएफले काठमाडौंलाई पराजित गरे सिधै फाइनलमा प्रवेश गर्नेछ। तर, एपिएफ काठमाडौंसँग हारेको खण्डमा तीन टिमको समान ४-४ अंक हुनेछ। अहिले एपिएफको चार अंक छ भने एपिएफ हार्दा काठमाडौंको पनि चार अंक हुनेछ। त्यस्तै, आर्मी र बागमतीमध्ये जित्ने टिमको चार अंक हुनेछ। यस्तो अवस्थामा जसको नेट रनरेट राम्रो हुनेछ त्यही टिम फाइनलमा प्रवेश गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।