काठमाडौं– बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। मंगलबार भएको खेलमा बागमतीले विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २७ रनले पराजित गरेको हो।
२३४ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४४.५ ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्रै बनाउन सक्यो।
एपिएफका लागि आशिफ शेखले अर्धशतक बनाए। उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए। त्यस्तै, शंकर रानाले २९, अमरसिंह रौटेलाले २७ र सन्दीप जोराले २५ रन जोडे।
बलिङतर्फ सोनु देवकोटाले ६ विकेट लिए। आरियो पौडेल र रामनरेश गिरीले समान २–२ विकेट लिए।
यसअघि त्रिवी क्रिकेट मैदानमा बागमती प्रदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा २३३ रन बनाएको थियो। बागमतीका लागि दुई खेलाडीले अर्धशतक बनाए।
सातौं नम्बरमा आएका नन्दन यादव ६० रनमा अविजित रहे। उनले ५६ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ६० रन बनाए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए। आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रन बनाए।
१० रनमा पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीले ५९ रन हुँदा पारस खड्कालाई दोस्रो विकेटको रुपमा गुमाएको थियो। तर, त्यसपछि ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले टिमलाई सम्हाल्दै लगे।
नन्दन र आदिलले उत्कृष्ट ब्याटिङ गरेपछि बागमतीले मध्यम लक्ष्य बनाएको थियो। बलिङतर्फ किशोर महतो र अमरसिंह रौटेलाले समान २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।