काठमाडौं– विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको छ। पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो। ८८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले १८.३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटायो।
पुलिसका सुनिल धमलाले ३९ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे। त्यस्तै, दीलिप नाथले १५ रनको योगदान दिए। बलिङतर्फ आर्मीका साहब आमल एक्लैले सात विकेट लिए। उनले ९ ओभरमा एक मेडनसहित ४५ रन खर्चिएर सात विकेट लिएका हुन्।
झिनो लक्ष्यको कारण आर्मी पराजित भयो। यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले नेपाल पुलिस क्लबविरुद्ध खराब प्रदर्शन गर्दै ३०.१ ओभरमा ८७ रन मात्रै बनाउन सक्यो।
आर्मीका लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहितकुमार पौडेलले १३ रन बनाए। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका सागर ढकालले पाँच विकेट लिए। उनले १० ओभरमा ४० रन खर्चिएर दुई ओभर मेडनसहित पाँच विकेट लिए।
त्यस्तै, पवन सर्राफले तीन र ललितनारायण राजवंशीले दुई विकेट लिए। यो जितसँगै पुलिसले तीन खेलमध्ये दुई खेलमा जित निकालेको छ। यसअघि बागमती प्रदेशलाई पुलिसले दुई रनले पराजित गरेको थियो। त्यसपछि दोस्रो खेलमा भने एपिएफ क्लबसँग पुलिस एक विकेटले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।