काठमाडौं– विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा ८७ रनमा अलआउट भएको छ।
अर्को विभागीय क्लब नेपाल पुलिस क्लबविरुद्ध आर्मी सस्तैमा समेटिएको हो। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेटको क्षतिमा ८७ रन मात्रै बनाउन सक्यो।
योसँगै पुलिसले ८८ रनको झिनो लक्ष्य पाएको छ। २५ रन हुँदा ६ विकेट गुमाएको आर्मीका अग्रपंतिका ब्याट्सम्यान सस्तैमा समेटिदा आर्मीले सय रन पनि कटाउन सकेन। आर्मीका जम्मा तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए।
लोकश बमले ३२, विक्रम सोबले १४ र रोहितकुमार पौडेलले १३ रन बनाए। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका सागर ढकालले पाँच विकेट लिए। उनले १० ओभरमा ४० रन खर्चिएर दुई ओभर मेडनसहित पाँच विकेट लिए। त्यस्तै, पवन सर्राफले तीन र ललितनारायण राजवंशीले दुई विकेट लिए।
आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको पुलिस आफ्नो दोस्रो खेलमा भने एपिएफसँग एक विकेटले पराजित भएको थियो। आर्मीलाई पराजित गर्दै पुलिस दोस्रो जित निकाल्ने लक्ष्यमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।