कैलाली- धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
लिटलको जितमा नरेन भट्टले ३० रन, मनोज चनाराले १६ र निरज चन्द १३ रन बनाए। त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो। उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए। लिटलका सचिन भट्टले ४, मनोज चुनारा र नरेन भट्टले ३/३ विकेट लिए।
सोमबार नै भएको दोस्रो खेलमा शारदा विद्या निकेतनले नेक्सस स्कुल काठमाडौंलाई २ विकेटले पराजित गरेको छ। शारदाको जितमा अर्जुन साउदले शतकीय पारी खेले। नेक्ससले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा साउदले ६२ बलमा १२ छक्का र ६ चौकाको मदतले अविजित रहँदै १ सय १३ रन बनाएपछि शारदाले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो। साउद म्यान अफ द म्याच चुनिए। नेक्ससका राज बम र सन्दीप पाण्डेले समान २/२ विकेट लिए।
यसअघि टस जिते ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओरभमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। उसका लागि विपिन विक्रम शाहीले ५३ र रमेश बुढाथोकीले ४१ रन बनाए। शारदाका दीपक रोकायाले ३ विकेट लिए।
१६ टिमको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागेको छ। प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन्। त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।