काठमाडौं– काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर्स एघार टिमलाई ५ विकेटले हराएको छ। काठमाडौंले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
आर्मीको जितमा ओपनिङ ब्याटिङमा आएका सोमपाल कामीले उत्कृष्ट खेल देखाए। ५१ बल खेलेका उनले ९ चौका ६ छक्कासहित ८० रन बनाए। सोमपाल १८औँ ओभरमा सन्दीप लामिछानेको बलमा आउट हुनुअघि आर्मीले ४ विकेट गुमाएर १२५ रन बनाएको थियो।
आर्मीका लागि अर्का ओपनर लोकेश बम २ बलमा १ रन बनाउँदै आउट भएका थिए। भिम सार्कीले १९ बलमा १६ रन, कुशल मल्लले २३ बलमा २३ रन बनाए। ३ बल खेलेका रोहित पौडेल बिना रन आउट भए। बिनोद भण्डारीले २७ बलमा २० साथै राजेश पुलामीले १८ बलमा ८ रन बनाए।
काठमाडौं मेयर्स एघारका लागि सन्दीप र विपिन खत्रीले दुई–दुई विकेट लिए। यता अनिल खरेलले एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङमा आएको काठमाडौं मेयर्स एघारले ४२ ओभर १ बलमा १५५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा काठमाडौंका लागि खड्क बोहराले ४६ बलमा १९ रन, हरिशंकर शाहले २९ बलमा १८ रन, विपिन रावलले ८ बलमा ६ रन, सन्दीप रजाइलीले ६३ बलमा ३७ रन, सौरभ खनालले ७४ बलमा ४२ रन, सन्दीप लामिछानेले १८ बलमा १३ रन बनाएका थिए।
आर्मीका लागि शाहब आलमले ४ , जितेन्द्र मुखियाले ३ साथै सोमपाल कामी, बिक्रम शोब र कुशल मल्लले एक–एक विकेट लिएका थिए।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पहिलो खेलमा एपिएफसँग एक विकेटले पराजित भएको थियो। आफ्नो पहिलो खेलमा काठमाडौं मेयर्स एघारले बागमती प्रदेशलाई ९४ रनले हराएको थियो।
प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन्। जसमा वागमती प्रदेश र एपिएफको खेल कीर्तिपुर मैदानमा साथै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेल मूलपानी मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।