काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबविरुद्ध एक विकेटको जित निकालेको हो।
यसअघि पहिलो खेलमा पनि एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध एक विकेटको जित निकालेको थियो। २५९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा ९ विकेटको क्षतिमा लक्ष्य भेटायो।
एपिएफका लागि सन्दीप जोराले ६१ रन बनाए। उनले ६५ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अर्धशतक बनाएका थिए। सुवास खकुरेलले पनि अर्धशतक बनाए। उनले ७९ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए।
आशिफ शेखले ४२, सुमित महर्जनले अविजित ३३ रन बनाउँदा कप्तान शरद भेषावकरले अविजित २० रन बनाए। बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच विकेट लिए। योगेन्द्रसिंह कार्कीको नाममा भने दुई विकेट रह्यो।
त्रिवि मैदान कीर्तिपुरमा एपिएफविरुद्ध टस जितेर ब्याटिङ रोजेको पुलिसले ५० ओभरमा सात विकेटको क्षतिमा १५८ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक बनाए।
उनले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै शतकसहित १४० रन बनाएका थिए। त्यस्तै, पवन सर्राफले ३५ र सुनिल धमलाले ३३ रन बनाए। बलिङतर्फ शरद भेषावकरले तीन र अविनाश बोहराले दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।