काठमाडौं– काठमाडौं मेयर एघार टिमले जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा काठमाडौंले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंको जारी प्रतियोगितामा पहिलो खेलमा नै जित निकाल्दै विजयी सुरुवात गरेको हो। बागमती प्रदेशको भने लगातार यो दोस्रो हार हो।
यसअघि पुलिसविरुद्ध बागमती शनिबार दुई रनले पराजित भएको थियो। २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बागमती प्रदेशले ३४.३ ओभरमा सबै विकेटको क्षतिमा १५० रन मात्रै बनाएपछि काठमाडौंले फराकिलो जित निकालेको हो।
बागमतीका लागि पृथु बास्कोटाले ६० रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए। कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले समान १७–१७ रन बनाउँदा आदिल खानले १५ र पारस खड्काले १० रन बनाए।
बलिङतर्फ कप्तान सन्दीप लामिछानेले तीन, अनिल खरेल र विपिन खत्रीले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर एघार टिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४४ रन बनाएपछि बागमती प्रदेशले मध्यम लक्ष्य पाएको थियो।
काठमाडौंका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले करियरकै उच्च रन बनाएका थिए। सन्दीपले ४२ रन बनाए। उनले उच्च रन बनाउने क्रममा २० बलको सामना गर्दा ६ छक्का प्रहार गरे।
त्यस्तै, आठौं नम्बरमा ब्याटिङ गर्न आएका सौरभ खनाल ४९ रनमा अविजित रहे। सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रन जोडे।
४३ रन बनाउँदा पाँच विकेट गुमाएको काठमाडौंका लागि सौरभ, सन्दीप लामिछाने, सन्दीप रजाली, सिद्धान्त र विपिनले उत्कृष्ट प्रदर्शन गरेपछि मध्यम लक्ष्य दिएको हो। बलिङतर्फ नन्दन यादवले चार, रामनरेश गिरी र आरियो पौडेलले समान २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।