काठमाडौं– घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्धको टि–२० क्रिकेट सिरिज जितेको छ। आइतबार बिहान भएको अन्तिम तथा पाँचौं खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई सात विकेटले पराजित गर्दै सिरिज जितेको हो।
१४३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १५.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका मार्टिन गुप्टिलले सर्वाधिक ७१ रन बनाउँदा डेभन कोनवोयले ३६ र ग्लेन फिलिप्सले अविजित ३४ रन बनाए। बलिङतर्फ रिले मेरेडिथले दुई विकेट लिए।
यसअघि स्काई रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४२ रन बनाएकाे थियाे। अस्ट्रेलियाका माथेव वाडेले ४४, कप्तान आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २६ रन बनाए।
बलिङतर्फ इश सोधीले तीन, टिम साउथी र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिए। यो अन्तिम खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दै पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको हो।
पहिलो खेलमा ५३ रनले जितेको न्युजिल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई चार रनले हराएको थियो। त्यसपछि तेस्रो खेलमा भने अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ र चौथो खेलमा ५० रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।