काठमाडाैं– दोस्रो चरणअन्तर्गत कोरोना भाइरसविरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ। फागुन २३ गतेबाट सुरु हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जना ज्येष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको हो।
भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०/१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११/११ गरि कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ।
फागुन २३ गतेबाट नौ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए। त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरुलाई पनि दोश्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाइने भएको छ। दोश्रो चरणको खोपअभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, एक हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ।
खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भएपनि यस्ता लक्षण एक दुई दिनमै आफै निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।