काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो।
शनिबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले आर्मीलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो। २३६ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले दुई बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य भेटायो।
एपिएफका लागि सुमित महर्जनले ६० रन बनाउँदा बसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८ र शंकर रानाले ३३ रन जोडे।
१६ रन बनाउँदा चार विकेट गुमाएको एपिएफले ८७ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। तर छैटौं नम्बरमा आएका सुमित र आठौं नम्बरमा आएका सबन्तले खेल जिताए।
त्यस्तै, एपिएफको जितमा अमरको ब्याटिङ पनि मुख्य रह्यो। बलिङतर्फ विक्रम सोबले तीन विकेट लिँदा करण केसीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २३५ रन बनाएको थियो।
आर्मीका लागि रोहितकुमार पौडेलले अर्धशतक बनाए। उनले ५६ रन बनाउँदा कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३० र सोमपाल कामीले २८ रन जोडे।
बलिङतर्फ अविनाश बोहराले तीन विकेट लिए। अमरसिंह रौटेला र भुवन कार्कीको नाममा २–२ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।