काठमाडौं– इंग्ल्यान्डविरुद्धको सिरिज जित्दै भारत विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। भारतविरुद्धको चार खेलको टेस्ट क्रिकेट सिरिज भारतले ३–१ ले जित्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो।
घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चौथो खेल भने सहज रुपमा जितेको हो। इंग्ल्यान्डलाई भारतले एकै इनिङ्समा २५ रनले हराएको हो।
टस जितेर पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले खराब प्रदर्शन गर्दै २०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। इंग्ल्यान्डका बेन स्टोक्सले ५५ र डेन लवरेन्सले ४६ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। भारतका लागि अक्षर पटेलले चार र रविचन्द्रन अश्विनले तीन विकेट लिए।
यसपछि आफ्नो पहिलो इनिङ्स थालेको भारतले ३६५ रन बनाउँदा सबै विकेट गुमायो। भारतका लागि रिषभ पन्तले शतक बनाए। उनले १०१ रन बनाउँदा वासिङटन सुन्दरले अविजित ९६ रन बनाए।
रोहित शर्माले ४९ र अक्षर पटेलले ४३ रन बनाए। बलिङमा बेन स्टोक्सले चार र जेम्स एन्डरसनले तीन विकेट लिए।
पहिलो इनिङ्समै १६० रनले पछि परेको इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा १३५ रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो।
इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा खराब खेल्दा डेन लवरेन्सले भने ५० रन बनाए। त्यस्तै, कप्तान जोई रुटले ३० रन जोडे। बलिङतर्फ भारतका अक्षर पटेल र रविचन्द्रन अश्विनले समान ५–५ विकेट लिए।
इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको भारतले अब विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। लर्ड्स क्रिकेट मैदान इंग्ल्यान्डमा हुने फाइनल आगामी जुनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।