काठमाडौं– विभागीय टिम नेपाल पुलिस क्लबले ‘काठमाडौं मेयर कप’ क्रिकेटमा विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई २ रनले पराजित गरेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध रोमाञ्चक जित निकालेको हो।
७३ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको बागमती प्रदेशले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ७० रन मात्रै बनाएपछि पुलिसले जित निकालेको हो।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ र आदिल खानले १० रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक पनि बनाएनन्।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए।
आठ ओभर बलिङ गरेका दीपेन्द्रले दुई ओभर मेडनसहित २४ रन खर्चिएर चार विकेट लिएका हुन्। त्यस्तै, ललितनारायण राजवंशीले तीन विकेट लिँदा सागर ढकालले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५.२ ओभरमा सबै विकेटको क्षतिमा ७२ रन मात्रै बनाएको थियो।
पुलिसका कप्तान मञ्जित श्रेष्ठले १५ रन बनाउँदा सुनिल धमला, अनिल कुमार शाह र दीलिप नाथले समान १०–१० रन बनाए। अग्रपंक्तिका ब्याट्सम्यान सस्तैमा समेट्दा पुलिसले खराब प्रदर्शन गरेको थियो।
बलिङतर्फ अरियो पौडेलले चार विकेट लिए। चार ओभरमा एक ओभर मेडनसहित सात रन खर्चिएर चार विकेट लिए। त्यस्तै, नन्दन यादवले तीन विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।