काठमाडौं– सन्दीप लामिछानेले ‘काठमाडौं मेयर कप’ क्रिकेटमा काठमाडौं एघार टिमको कप्तानी गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं एघार टिमको कप्तानको जिम्मेवारी सन्दीपलाई दिएको जानकारी दिए।
पाकिस्तान सुपर लिग स्थगित भएपछि सन्दीपले शनिबारदेखि सुरु हुने ‘काठमाडौं मेयर कप’ क्रिकेट खेल्न लागेका हुन्। क्यान सचिव अशोकनाथ प्याकुरेलले सन्दीपले कप्तानी गर्ने पुष्टी गरेका हुन्।
उनले भने, ‘कसैलाई पनि बाहिर नराख्ने भनेर नै सन्दीपलाई पनि समेटेका हौं। सन्दीप पनि आएको हुँदा काठमाडौं एघारमा चाहिँ १६ खेलाडी हुने भएको छ।’
त्यस्तै, सन्दीपको दुबै पिसिआर रिपोर्ट नेगेटिभ आए मात्रै सुरुदेखि नै खेल्न पाउने नेपाली क्रिकेटका म्यानेजर विनोद दासले जानकारी दिए। उनले भने, ‘सन्दीपको पिसिआर रिपोर्ट दुई वटै नेगेटिभ आएको खण्डमा खेल्छन्। नत्र टिमका उपकप्तानले नेतृत्व सम्हाल्ने छन्।’
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने ‘काठमाडौं मेयर कप’ को पहिलो दिन शनिबार दुई खेल हुँदैछन्। उद्घाटन खेलमा शनिबार त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल त्रिवी क्रिकेट मैदानमा हुनेछ।
त्यस्तै, नेपाल पुलिस क्लब र वागमती प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा गएको माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिम (त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस क्लब, बागमती प्रदेश) सहित एक नयाँ टिम ‘काठमाडौं मेयर एघार’को सहभागिता रहेको छ।
काठमाडौं महानगरको टिममा रहने खेलाडी प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबाट क्यानले छनोट गरेको हो।
काठमाडौं महानगरपालिकाले प्रतियोगिताको लागि ५० लाख रुपैयाँ क्यानलाई दिएको छ। प्रतियोगिताको विजेताले ५ लाख नगद पाउने छ। उपविजेताले भने ३ लाख पाउने क्यानले जानकारी दिएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले ५० हजार पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५–२५ हजार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।