काठमाडाैं– अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी मे महिनाको अन्तिमसम्म सबै वयस्कलाई कोरोना भाइरसविरुद्धको खोप दिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ह्वाइट हाउसमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै वाइडेनले तोकिएको भन्दा पहिला नै मुलुकका सबै वयस्क नागरिकले कोरोना खोप पाउने बताएका हुन्।
अमेरिकी नियामकले ‘जाइन्ट जोन्सन एण्ड जोन्सन’ र फाइजर र मोदेर्नाको खोपलाई अनुमति दिएको छ।
यसअघि अमेरिकाले फाइजर र मोडेर्नाको खोपबाट जुलाईसम्ममा सबै वयस्क नागरिकलाई कोरोना खोप दिन सकिने बताएको थियो। तर जाइन्ट जोन्सन एण्ड जोन्सन खोपले स्वीकृती पाएसँगै यसअघिको योजनाभन्दा पहिला नै वयस्क मानिसहरुले कोरोना खोप पाउने भएका हुन्।
अमेरिका संक्रमित तथा मृतक संख्याको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो। अमेरिकामा अहिलेसम्म कोरोनाबाट पाँच लाख १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई करोड ८७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन्।
यता सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा रशेल वालेन्स्कीले अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोना भाइरस महामारीको चौथो चरणमा थप जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।
‘तीव्र गतिमा फैलिने नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा हामीले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा छ,’ उनले भनेकी छिन्,‘यी भेरियन्टहरु सर्वसाधारण र हाम्राे लागि वास्तविक चुनौति हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।