काठमाडौं– घरेलु टिम न्युजिल्यान्डविरुद्धको टि–२० क्रिकेट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले फराकिलो जित निकालेको छ। बुधबार भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले पराजित गरेको हो।
२०९ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १७.१ ओभरमा सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनायो। न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ४३ र डेभोन कनवोयले ३८ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन्।
न्युजिल्यान्डका खेलाडीलाई सस्तैमा समेट्न अस्ट्रेलियाका स्पिनर एस्टन एगरले किफायती बलिङ गरे। उनले ४ ओभरमा ३० रन खर्चिएर ६ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०८ रन बनाएको थियो।
अस्ट्रेलियाको उच्च प्रदर्शनमा ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरे। उनले मात्र ३१ बलमा पाँच छक्का र आठ चौका प्रहार गर्दै ७० रन बनाए।
त्यस्तै, कप्तान आरोन फिन्चले ४४ बलमा ६९ र जोश फिलिपेले ४३ रन बनाए। बलिङतर्फ इश सोधीले दुई विकेट लिए।
यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको टि–२० क्रिकेट सिरिजमा २–१ को स्थितिमा ल्याएको छ।
अस्ट्रेलियाले यसअघि खेलेको दुबै खेलमा नतिजा न्युजिल्यान्डलाई सुम्पिएको थियाे। पहिलो खेलमा ५३ रनले हारेको अस्ट्रेलिया दोस्रो खेलमा चार रनले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।