काठमाडाैं– जापानले मलद्वारबाट कोरोनाको स्वाब ‘एनल स्वाब’ लिने कार्य बन्द गर्न चीनलाई अनुरोध गरेको छ।
उसले आफ्ना देशका नागरिक चीन प्रवेश गरेमा मलद्वारबाट स्वाब लिन बाध्य बनाउन नहुने बताएको हो।
जापानी मन्त्रिपरिषदका सचिव कात्सुनोबु कातोले भनेका छन्,‘केही मानिसहरुले ‘एनल स्वाब’को विधिका कारण मनोवैज्ञानिक समस्या निम्तिएको गुनासो गरेका छन्। जसका कारण उनीहरुले मानसिक तनाव झेलिरहेका छन्।’
बीबीसीका अनुसार कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको चीनले यस वर्षको जनवरीदेखि ‘एनल स्वाब’ लिन थालेको छ।
चीनमा पछिल्लो समय विभिन्न क्षेत्रमा मलद्वारको स्वाब लिन थालिएको खबरहरु आएका छन्। गतहप्ता मात्र चीनस्थित केही अमेरिकी कूटनीतिज्ञले ‘एनल स्वाब’ लिन बाध्य पारिएको गुनासो गरेका थिए।
मलद्वारको स्वाब कोरोना पत्ता लगाउन सबैभन्दा उत्तम उपाय भएको चीनले बताएको छ।
तर चीनको विदेशमन्त्रालयले विदेशी कूटनीतिज्ञलाई केही विषयमा बाध्य नपारिएको प्रतिक्रिया दिएका थिए।
बेइजिङको यूआन अस्पतालका डाक्टर लि तोङजेङले भनेका थिए,‘मलद्वारबाट स्वाब लिइए यसबाट कोरोना संक्रमित पत्ता लगाउने दर बढ्नेछ।’
परीक्षणमा स्वाब लिन मलद्वारमा ३.५ सेमी (०.२-२.० इन्च) कपाससहित सिन्का घुसाउँछन् र बिस्तारै घुमाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।