काठमाडौं- ‘काठमाडौं मेयर कप’को लागि काठमाडौं मेयर एघार टिमबाट खेल्ने खेलाडीको टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं मेयर एघार टिमको नामाकरण गर्दै खेलाडीको चयन गरेको हो।
फागुन २२ देखि २९ गतेसम्म टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको लागि काठमाडौं मेयर एघार टिमको घोषणासँगै यो टिमबाट खेल्ने खेलाडीको पनि टुंगो लागेको हो।
काठमाडौं टिमबाट खेल्ने खेलाडीहरुमा सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्र जंग शाही, नारायण जोशी, हरिशंकर साह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खड्ग बहादुर बोहरा छन्।
क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा काठमाडौं मेयर टिममा खेलाडी छनोट गरेको हो। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टिममा रहेका खेलाडीलाई छनोट गर्दै क्यानले काठमाडौं मेयर एघार टिम बनाएको हो।
प्रतियोगितामा गएको माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिमसहित काठमाडौं मेयर एघार गरी पाँच टिमको सहभागिता रहनेछ।
प्रतियोगिता आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सहमति गएको माघ २० गते नै भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।