काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सुरक्षा थ्रेट भएको बताइरहेका बेला सुरक्षा निकायले भने त्यस्तो कुनै थ्रेट नभएको दाबी गरेका छन्।
सोमबार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरेका थिए। ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन दिइने छैन। म नभए पनि देश अघि बढ्छ। मेरो पार्टी रहन्छ।’
प्रधानमन्त्री ओलीको सार्वजनिक अभिव्यक्तिपछि नेपाल लाइभले चारै वटा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) सँग प्रधानमन्त्री ओलीको सुरक्षाबारे जानकारी लिएको छ। उनीहरूले प्रधानमन्त्रीमाथि कुनै सुरक्षा थ्रेट नभएको बताए।
‘के बोल्दा के असर पर्छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने हो। तर, उहाँले कुन हिसाबले त्यो भन्नुभयो थाहा भएन। प्रधानमन्त्रीमाथि कुनै पनि सुरक्षा थ्रेट छैन’, सुरक्षा स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले देश–विदेशका शक्ति नेकपालाई ध्वस्त पार्न लागेको र आफू पार्टी अध्यक्ष भएकाले प्रहार हुनसक्ने बताएका थिए।
उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षामा ९० जना सुरक्षाकर्मी परिचालित छन्। भिआइपीको सुरुक्षामा ‘जेड प्लस’ प्रणालीमा सुरक्षाकर्मी खटिन्छन्। सवारी, कार्यालय तथा निवासमा खटिने सुरक्षाकर्मीका हतियार अत्याधुनिक हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।