धनगढी- धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शारदा विद्या निकेतन धनगढी र होल्याण्ड स्कुल अत्तरिया विजयी भएका छन्।
आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनायो। जसका लागि सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको पारी खेले। अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाए। लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिए।
१ सय ६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४० रन मात्रै बनाउनसक्यो। लिटल बुद्धका लागि रोयल बमले अविजित रहँदै ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। कप्तान आयुष्मान बम र सागर भण्डारीले २०/२० रन बनगाए।
शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए। खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड भए।
आइतबार नै भएको दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५ दशमलव ५ ओभरमा सबै विकेटको क्षतीमा ८६ रन मात्रै बनाउन सक्यो।
उसका लागि अविशेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए। होल्याण्डका अशोक धामीले ४ र श्याम साउँदले २ विकेट लिए। ८७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतिमा लक्ष्य भेट्टायो। होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए। खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौ संस्करणको प्रतियोगिता अन्तरगत भोलि पनि दुई खेल हुनेछन्। प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ। म्यान अफ द म्याचले १ हजार ५ सय पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।