काठमाडाैं-नेकपाको केपी शर्मा ओली पक्षका युवा संघमा नेतृत्व र एकतालाई लिएर निक्कै ठूलो विवाद भयो। नेतृत्वमा ओली पक्षबाट बचनबहादुर सिंह आएपनि एकतामा पूर्वमाओवादी समूहलाई ‘स्पेस’ नदिएपछि उनीहरु असन्तुष्ट भए। त्यही विषयलाई लिएर युवा संघमै आवद्ध गृहमन्त्रीका स्वकीय सचिव विरु तामाङ ‘सुदीप’ले नेतृत्व गरेको पूर्वमाओवादी समूहले प्रचण्ड–माधव पक्षसँग निकट्ता बढाए। त्यसैलाई मुद्दा बनाएर गृहमन्त्री रामबहादुर थापा‘बादल’ले तामाङलाई स्वकीय सचिवबाट आइtबार हटाएका छन्। उनै तामाङसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश :
गृहमन्त्रीले तपाईंलाई स्वकीय सचिवबाट हटाउनुभएछ। खास कारण के हो ?
मैले त्यो जिम्मेवारीबाट एक महिना अगाडि नै विदा लिएको हुँ। आफैंले छोडेको हुँ, हटाएको होइन। उहाँहरुले हटायो भन्नुभयो होला। युवा संघको एकतामा कुरा नमिलेपछि सचिवालयको जिम्मा लिन्नँ, सचिवालयमा आउँदिन भनेर भनेको थिएँ। एक महिनादेखि गृह मन्त्रालयका पाइला टेकेको छैन। हाजिरी पनि गरेको छैन।
जिम्मेवारी नै छोड्न बाध्य बनाउने तपाईंका असन्तुष्टिहरु के-के हुन्?
पार्टी दुई ध्रुबमा विभाजित भएपछि स्वभाविकै रुपमा आ–आफ्नो कित्तामा उभिने कुरा भयो। तत्कालीन एमाले, माओवादी मिक्स भएर विभाजित भएपछि फेरि एकता गर्नुपर्ने भयो। एकता हुनेबेला युवा संघमा विधानविपरीत साथीहरू एकपक्षीय ढंगले अघि बढे। त्यसमा मेरो असन्तुष्टि थियो। यो कुरा मिलाउनुपर्छ भनेर माथिल्लो लिडरसिपलाई भनेको थिएँ।
जनवर्गीय संगठनको अवस्थाको विषयमा धेरै पटक सम्झाउने प्रयास गरेँ। ओली पक्ष देशैभर निषेध गरेर जाने नीतिमा गयो। मेरो भनाइ के थियो भने कम्तिमा विधानसम्मत गर्नुपर्यो भन्ने थियो। युवा संघमा एकलौटी ढंगले जानुभयो। मिलाउनु भएन भने सचिवालयमा काम गर्दिनँ, संगठनमै बसेर काम गर्छु भनेको थिएँ। पार्टी फुटेको छैन। अब कतै कित्तामा लाग्दिनँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।