काठमाडाैं- नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट हटाइएकोमा नेता देव गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।
राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम गरेको गुरुङको टिप्पणी छ। ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको गुरुङले बताए।
एकातिर संसद सिध्याउने अनि फेरि संसदको बारेमा चिन्ता लिने कुरा नमिल्ने गुरुङको भनाइ छ। ओलीले सर्वोच्चले गरेको फैसलापछि आत्मसमीक्षा गरेर अदालतको फैसला स्वीकार गरेँ भन्नुपर्ने र राजीनामा दिनुपर्ने गुरुङले बताए। ओलीको राजीनामापछि मात्र पार्टीमा छलफल हुने उनले बताए।
‘नैतिक धरातल गुमाएको मान्छेले हटाउने र राख्ने कार्य गर्न मिल्दैन’, गुरुङले भने ‘मनपरि ढङ्गले आफ्नो काम गर्ने कार्य सर्वोच्च र संविधानको मूल्य मान्यताको अवज्ञा हो।’
ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वाेच्च अदालतले पुन:स्थापना गरेकाले उनमा यस्तो अधिकार नरहेको गुरुङको टिप्पणी छ। ओलीले पहिले सर्वोच्चको फैसला स्वीकार गरेमात्र अरु गर्न पाउने गुरुङको भनाइ छ।
थप समाचार :
नेकपाका नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- ‘जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’
देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाउने ओलीको निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।