काठमाडाैं– यातायात व्यवस्था विभागले ट्रायल पास गरेका परीक्षार्थीलाई एक महिनाभित्रमा चालक अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ।
ठूलो संख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको हो।
अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ। विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए।
उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै संख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ। उनले भने, ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ।’
विभागले गत वर्ष खरिद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ। एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५ सय छापिने निर्देशक पौडेलले बताए। उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ।
कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो। नयाँ चालक अनुमतिपत्रका लागि देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन्।
तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।