काठमाडौं- भारतले तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।
चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा जित निकालेसँगै भारतले २–१ को अग्रता बनाएको छ। अब अन्तिम तथा चौंथो टेस्ट बराबरीमा सकिएमा अथवा इंग्ल्यान्ड हारेमा भारत विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्नेछ।
पाँच दिनको टेस्ट खेलमा भारतले इंग्ल्यान्डविरुद्ध दोस्रो दिन नै जित निकालेको हो। सहज जित निकाल्ने क्रममा भारतले ४९ रनको झिनो लक्ष्य पाएको थियो। सामान्य चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले बिना विकेट लक्ष्य भेटायो। भारतका लागि रोहित शर्माले अविजित २५ रन बनाउँदा शुबमन गिल १५ रनमा अविजित रहे।
यसअघि नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले खराब सुरुवात गर्दै ११२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। इंग्ल्यान्डका लागि ज्याक क्रावलीले ५३ र कप्तान जोइ रुटले १७ रन बनाए। त्यस्तै, बेन फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाए। इंग्ल्यान्डका चार खेलाडीले मात्रै दोहोरो अंक बनाएका थिए।
इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका स्पिनर अक्षर पटेल नायक बने। उनले ६ विकेट लिए। त्यस्तै, रविचन्द्रन अश्विनले तीन विकेट लिए। त्यसपछि भारतले पनि आफ्नो पहिलो इनिङ्समा खराब प्रदर्शन गर्यो। भारतले सबै विकेटको क्षतिमा १४५ रन बनाएपछि इंग्ल्यान्डलाई फाइदा पुगेको थियो। भारतका रोहित शर्माले ६६, कप्तान विराट कोहलीले २७ र रविचन्द्रन अश्विनले १७ रन बनाए। बलिङमा कप्तान रुटले पाँच विकेट लिए। ज्याक लिचले चार विकेट लिए।
पहिलो इनिङ्स सकिँदा इंग्ल्यान्ड ३३ रनले पछि परेको थियो। इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा पनि राम्रो गर्न सकेन। झनै खराब खेल्दै इंग्ल्यान्डले दोस्रो इनिङ्समा ८१ रन बनाउँदा सबै विकेट गुमायो। इंग्ल्यान्डका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। बेन स्टोक्सले २५ र कप्तान रुटले १९ रन बनाए। इंग्ल्यान्डलाई न्यून स्कोरमै समेट्न भारतका अक्षेर पटेलले किफायती बलिङ गरे। उनले पाँच विकेट लिए। त्यस्तै, अश्विनले चार विकेट लिए।
भारत र इंग्ल्यान्डबीचको चौंथो टेस्ट खेल मार्च ४ मा हुनेछ। न्युजिल्यान्ड यसअघि नै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरिसकेको छ। दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको तीन खेलको टेस्ट क्रिकेट सिरिज रद्द भएसँगै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।