काठमाडौं- राजस्व परामर्श विकास समितिका अध्यक्ष र सदस्यको पारिश्रमिक बढेको छ। सरकारले समितिका अध्यक्ष र सदस्यले क्रमश: मासिक ६५ हजार र ६० हजार रूपैयाँ तलब पाउने गरी पारिश्रमिक बढाइएको हो।
अहिले समितिको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारी छन्। राजस्व परामर्श विकास समिति गठन आदेशअनुसार दुई सदस्य हुनुपर्ने भए पनि एक सदस्य भने रिक्त छ।
यसअघि समितिका अध्यक्षले नेपाल सरकारको सचिवसरह तलब र सदस्यले सहसचिव सरह तलब पाउने व्यवस्था थियो। अहिले यसमा परिमार्जन गरिएको हो।
परिमार्जित व्यवस्थाअनुसार अब अध्यक्ष र सदस्यले एक थान सवारी साधन, सवारी चालक र मापदण्डबमोजिम इन्धन पाउनेछन्। त्यस्तै, भ्रमण खर्चवापत नियमनअनुसार विशिष्ठ श्रेणीले पाएसरह भ्रमण खर्च र सञ्चित नहुने गरी विदाको सुविधा पाउनेछन्।
समितिले नयाँ बजेट निर्माणका लागि राजस्वतर्फ सुझाव संकलनको काम अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।