काठमाडौं– घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई चार रनले पराजित गरेको हो।
दुनेदिनस्थित युनिभर्सिटी ओभलमा भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध रोमाञ्चक जित निकालेको हो। २२० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २१५ रन बनाउन सक्यो।
मार्कस स्टोइनिसले ७८, जोश फिलिपेले ४५ र ड्यानियल साम्सले १५ बलमा ४१ रन बनाए पनि अस्ट्रेलियालाई हारबाट जोगाउन सकेनन्। न्युजिल्यान्डका मिचेल साट्नरले चार विकेट लिँदा जेम्स निशामको नाममा दुई विकेट रह्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१९ रन बनायो।
न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५० बलमा ८ छक्का र ६ चौका प्रहार गर्दै ९७ रन बनाए। त्यस्तै, कप्तान केन विलियम्सनले ५३ र जेम्स निशामले अविजित ४५ रन बनाए। बलिङमा अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए।
यो जितसँगै पाँच खेलको टि–२० क्रिकेट सिरिजमा घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध २–० को अग्रता बनाएको छ। यसअघि पहिलो खेलमा अस्ट्रेलिया न्युजिल्यान्डसँग ५३ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।