काठमाडौं– भारतीय तिब्रगतिका बलर इशान्त शर्माले सय टेस्ट क्रिकेट खेल पूरा गरेका छन्। इशान्तले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेल खेलेसँगै सय खेल पूरा गरेका हुन्।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले खराब सुरुवात गर्दा पहिलो विकेट नै इशान्तले लिए। आफ्नो सय खेलमा पनि इशान्तले सुरुवातमै विकेट लिए। ३२ वर्षीय इशान्त इंग्ल्यान्डविरुद्धको खेलमा रहेका सबैभन्दा अनुभवि भारतीय खेलाडी हुन्।
इशान्तले सय टेस्ट क्रिकेट खेलिरहँदा कप्तान विराट कोहलीले भने ९० औं टेस्ट क्रिकेट खेल खेलिरहेका छन्। त्यस्तै, चेतेश्वर पुजाराले ८४, रविचन्द्रन अश्विनले ७७ र अजिंक्या राहानेले ७२ खेल खेलिरहेका छन्।
सय खेल खेलिरहँदा उनले ३०३ विकेट लिइसकेका छन्। २००७ सालमा बंगलादेशविरुद्ध डेब्यु गरेका इशान्तले ब्याटिङतर्फ टेस्ट क्रिकेटमा एक अर्धशतकसहित कुल ७३६ रन बनाएका छन्।
इशान्त सर्वाधिक टेस्ट क्रिकेट खेल्ने भारतीय बलरमा चौथो नम्बरमा पर्छन्। अहिलेसम्म सय खेलमाथि खेल्ने भारतीय बलरहरुमा अनिल कुम्ले, कपिल देव र हर्भजन सिंह रहेका छन्। अनिल कुम्लेले १३२, कपिल देवले १३१ र हर्भजन सिंहले १०३ टेस्ट क्रिकेट खेल खेलेका छन्।
अहिलेसम्म टेस्ट क्रिकेट खेलमा सर्वाधिक विकेट लिने भारतीय खेलाडीमा शीर्ष स्थानमा अनिल कुम्ले छन्। उनले ६१९ विकेट लिँदा कपिल देवले ४३४, हर्भजन सिंहले ४१७, रविचन्द्रन अश्विनले ३९४, जाहिर खानले ३११ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।