काठमाडौं– ‘काठमाडौं मेयर कप’ क्रिकेट प्रतियोगिता यही फागुन २२ गतेदेखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने भएको छ। प्रतियोगिता काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्नेछ।
प्रतियोगितामा गएको माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिमसहित एक नयाँ टिमको सहभागिता रहनेछ। जसमा त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस क्लब, बागमती प्रदेश टिमसँगै काठमाडौं महानगरपालिकाको टिम रहनेछ।
महानगरको टिम प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका खेलाडीको संयुक्त टिम हुने क्यानले जनाएको छ।
काठमाडौं महानगरको टिममा रहने खेलाडी प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबाट क्यानले छनोट गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताएका छन्।
‘प्रधानमन्त्री कपमा सेमिफाइनल पुग्ने बाहेकका टिमका खेलाडीले गरेको प्रदर्शनका आधारमा महानगरको टिममा खेलाडी छनोट गरिनेछ, खेल तालिका एक–दुई दिनभित्र टुंगो लाग्नेछ’ उनले भने।
प्रतियोगिता आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सहमति गएको माघ २० गते नै भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।